११ श्रावण २०८१, शनिबार

बैंकमा रहेकाे भिड्भाड अन्त्य गर्न पहल थालेका छाै : उपप्रमुख- थापा

जाजरकोट । छेडागाड नगरपालिका जाजरकोट थलहमा रहेको ग्लोबल आई.एम.ई बैंक शाखामा हुने भिडभाड कम गर्न नगरपालिकाले पहल गरिरहेको नगर उपप्रमुख चन्द्र बहादुर थापाले बताएका छन ।

भिडभाड कम गर्न सो बैंकलाई नगरपालिकाको केन्द्र मनाघाटमा थप काउन्टर थप्न भने पनि जनशक्ति अभाव देखाएर पन्छिन खोजेकाले अर्को बैंकको शाखा ल्याउने पहल भईरहेको उपप्रमुख थापाले  बताए । थलहमा बैंकको एउटा शाखा मात्र हुँदा स्थानीयले कारोबारको लागि निकै सास्ती खेप्नु परेको गुनासो गर्दै आएको उनको भनाइ छ ।

थप बैंकको शाखा स्थापना भए नगरपालिकाले बैङ्किङ प्रणालिवाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य पनि सहज हुने उनले बताए । यस्तै नगरपालिकाको आगामी शैक्षिक योजना निर्माणका लागि कार्यदल गठन गरिएको र स्थलगत प्रतिवेदन सहित सुझाव पेश भएपछि थप कार्यक्रम प्रभावकारी बनाउन नगरपालिका लाग्ने उपप्रमुख थापाको भनाइ छ ।

नगरपालिकाले भुमि आयोग द्वारा प्रदान हुने भुमिहीन सुकुम्बासी, भुमिहीन दलित र अव्यवस्थित वसोवासीको लागत आयोगमा पेश गरेको समेत उनले जानकारी दिए । आफुहरु निर्वाचित भएर आएपछि पालिकाको प्रशासनिक केन्द्रको निर्णय गर्न सफल भई राजपत्रमा प्रकाशन लगायत जग्गा व्यवस्थापन, पालिका स्तरिय औधोगिक ग्राम स्थापनाको लागि पहल र अधुरा नगरपालिकाका महत्वाकांक्षी आयोजनामा वजेट लगानी र दायित्वग्रहण गर्ने काम महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।