२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा यस बर्ष ३३ कराेड बराबरको सुन्तला उत्पादन

८ पुस, जाजरकोट । जाजरकोटमा यस वर्ष ३३ करोड रुपैयाँ भन्दा बढी सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १६ प्रतिशत उत्पादन बढेको जिल्लामा ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको हो ।

पराम्परागत खेती प्रणालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गहुँ खेती जस्ता अन्न बाली उत्पादन गर्दै आएको जमिनमा किसानहरुले बर्षेनि व्यावसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । जसले गर्दा यो वर्ष ६ हजार ७५० मेट्रिक टन सुन्तला फलेको छ ।

सुन्तला उत्पादनको लागि यस वर्ष राम्रो सिजन भएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई जाजरकोटका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले प्रत्येक वर्ष भइरहेको सुन्तला खेतीको क्षेत्र विस्तारले उत्पादन बढेको बताए ।

कुशे गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म, भेरी नगरपालिका–१, २, ३, ४, ५, ६, ७ र १० नम्बर वडा, नलगाड नगरपालिकाको वडा नं. १ देखि ७ सम्म र छेडागाड नगरपालिकाको १०, ११ र १२ नम्बर वडाका १७५ निजी फर्म, समूह, सहकारीले ६०५ हेक्टर जमिनमा व्यावसायिक सुन्तला खेती गरिरहेको निमित्त प्रमुख पोखरेलले जानकारी दिए ।

१७५ फर्म, समूह, सहकारीका २ हजार २०१ जना किसानले व्यावसायिक सुन्तला खेती गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यान्वयन इकाई जाजरकोटले जनाएको छ ।

कृषि विकास कार्यालय, जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले सुन्तला किसानले बारीबाटै प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको जानकारी दिए । गाउँमा फलिरहेका सुन्तलाहरु वजारकाे ब्यवस्थापन नहुदा कतिपय सुन्तला  कुहिरहेका बजारकाे ब्यवस्थापन गर्नु पर्ने कुशे ५ दमदालाका एक कृषकको गुनासो छ । पुस १० देखि १५ सम्मा सदरमुकाम खलंगामा लाग्ने रमाइलो मेलामा सुन्तलाहरु बिक्रीका लगिने किसानहरुकाे लक्ष्य रहेकाे छ ।