राजन थापा
काठमाडौं / समाजका सबै वर्गका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ ॐ समाज डेण्टल अस्पतालले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
“सडकदेखि सदनसम्मका मानिसको उपचार” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। यसै अभियानअन्तर्गत आज बनस्थली चोकमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले समेत उपचार सेवा लिएका छन्।
शिविरमा सहभागी भएका ४० वर्षीय कुर्सिद आलमले आफूजस्ता अपाङ्गता भएका व्यक्तिका लागि यस्तो सेवा निकै उपयोगी भएको बताए। उनले भने, “हामीजस्ता अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सेवा लिन कहिलेकाहीँ धेरै कठिन हुन्छ। तर ॐ समाज डेण्टल अस्पतालले आयोजना गरेको शिविरमा सहज रूपमा सेवा पाउँदा निकै खुशी लागेको छ। अझ नेपालकै वरिष्ठ ओरल तथा म्याक्सिलोफेसियल सर्जन डाक्टर सुवास घिमिरेको हातबाट उपचार पाउनु हाम्रो लागि ठूलो अवसर हो। उहाँ जस्तो अनुभवी चिकित्सकले जाँच गर्दा धेरै विश्वास लाग्छ।” नेपालमै मात्र नभई विदेशमा समेत आफ्नो दक्षता र अनुभवका कारण परिचित बनेका डाक्टर सुवास घिमिरेले शिविरमा आएका बिरामीहरूको जाँच गर्दै आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरेका थिए। उहाँको उपस्थितिले शिविरमा आएका बिरामीहरूमा थप भरोसा र उत्साह देखिएको थियो।
बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङका अनुसार अस्पतालले सामाजिक सेवाको भावनालाई प्राथमिकतामा राखेर नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। उहाँले भन्नुभयो, “हामीले आफ्नो मूल नारा ‘सडकदेखि सदनसम्मका मानिसको उपचार’लाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौँ।
आजको शिविरमा ७८ वर्षीय एक बुवा उपचारका लागि आउनुभएको थियो। हाम्रो अस्पतालका वरिष्ठ डाक्टर स्वयं शिविरमा उपस्थित भएर बिरामीहरूलाई सेवा दिनु भएको देख्दा बिरामीहरू निकै सन्तुष्ट देखिनुहुन्थ्यो। बिरामीहरूको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।” अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा नियमित रूपमा शिविर सञ्चालन गर्दै आएको आयोजक समितिका सदस्य तथा सामाजिक अभियन्ता राजन थापाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक महिनाको पहिलो हप्ता शनिबार नैकापस्थित ॐ समाज डेण्टल अस्पतालबाट विभिन्न चोक–चोकमा शिविर सञ्चालन गरिन्छ। दोस्रो हप्ता चापागाउँ दोबाटोस्थित शाखाबाट निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन्छ भने तेस्रो हप्ता चाबहिल चोकमा शिविर सञ्चालन गरिन्छ। त्यस्तै महिनाको अन्तिम हप्ता बनस्थली चोकमा निःशुल्क उपचार शिविर आयोजना गरिने गरिएको छ। थापाले आजको शिविर विशेष रूपमा महत्वपूर्ण भएको उल्लेख गर्दै सामाजिक सेवामा सहकार्य गर्ने संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
विशेषगरी किर्तिपुर आँखा अस्पतालबाट आउने चिकित्सक टोलीले यस्ता सामाजिक अभियानहरूमा निरन्तर सहयोग गर्दै आएको बताउँदै शिविर प्रमुख विशाल थापासहित सम्पूर्ण चिकित्सक टोलीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि स्वास्थ्य सेवा विस्तारका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आजको शिविरमा बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङसँगै डाक्टर दिक्षा चौधरी, डाक्टर अभिषेक यादव, डाक्टर गौरी श्रेष्ठ, हाइजेनिस्ट रश्मि ढकाल, सहायक रिता नेपाली , जुनु पण्डित र सोनम सारुलगायतको सक्रिय सहभागिता रहेको थियो।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको दाँत, मुख तथा अनुहारसम्बन्धी विभिन्न समस्याको जाँच गरी आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरेका थिए। शिविरको समापनमा बोल्दै वरिष्ठ सर्जन डाक्टर सुवास घिमिरेले स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “रोग लागेपछि अस्पताल जानुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो। नियमित स्वास्थ्य जाँच, सरसफाइ र सचेतनाले धेरै रोगबाट बच्न सकिन्छ।” समाजका सबै वर्गका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको ॐ समाज डेण्टल अस्पतालको यो अभियानले स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकलाई ठूलो राहत पुर्याएको स्थानीयवासीले बताएका छन्।
नियमित रूपमा विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन हुँदै जाँदा समुदायमा स्वास्थ्य चेतना पनि बढ्दै गएको देखिएको छ।
