८ माघ २०८२, बिहीबार

नेकपाका युवा नेता सापकोटाद्वारा सिन्धुपाल्चोक–१ मा मनोनयन दर्ता

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता माधव सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । निवर्तमान सांसदसमेत रहेका सापकोटाले आज निर्वाचन अधिकृतको कार्यलय, सिन्धुपाल्चोकमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिकट लिएका सापकोटाले प्रस्तावक उजारसिंह तामाङ र समर्थक सिंग बहादुर विकसहित आफैं उपस्थित भई मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्तापछि उनले जनताको विश्वास, विकास र सुशासनका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइने बताए ।
को हुन् माधव सापकोटा ‘सुबोध’?
माधव सापकोटा ‘सुबोध’ नेपाली कम्युनिष्ट आन्दोलनबाट उदाएका चर्चित, अध्ययनशील र जनमुखी युवा नेता हुन् । उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सांसद तथा संघीय संसद् प्रतिनिधि सभामा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भइसकेका प्रतिनिधि हुन् । समकालीन नेपाली राजनीतिमा स्पष्ट विचार, तर्कसंगत अभिव्यक्ति र निरन्तर जनसरोकारका मुद्दा उठाउने पारदर्शी नेताका रूपमा उनी परिचित छन् ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएपछि संसदमा उनले सशक्त भूमिका निर्वाह गरेका कारण देशभर चर्चित छन् । उच्च उपस्थिति, तथ्यमा आधारित बहस र विधेयकहरूमा सक्रिय संशोधन प्रस्तावका कारण उनी गएको संसदका उदाहरणीय युवा सांसदमध्ये गनिन्छन् ।
तातोपानी नाका पुनःसञ्चालन, अरनिको राजमार्ग स्तरोन्नति, जुरे पहिरो पीडितको रकम वितरण तथा जुगल हिमाल आरोहण खुलाउन उनको निर्णायक भूमिका रहेको छ ।
जुरे पहिरो, २०७२ को महाभूकम्प, कोभिड–१९ तथा बाढीपहिरो जस्ता संकटका समयमा उनी निरन्तर जनताको बीचमा रहे। बजेट कार्यान्वयन, विपद् व्यवस्थापन, पूर्वाधार विकास, सुशासन, शिक्षा, रोजगारी र जलवायु परिवर्तन उनका प्रमुख सरोकारका क्षेत्र हुन् ।
उनको जन्म वि.सं. २०३७ चैत २० गते सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिन्डेमा पिता हरिप्रसाद सापकोटा र माता खिलमाया सापकोटाको माइला सन्तानका रूपमा भएको हो । विद्यालय तहको शिक्षा सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय, कुबिन्डे तथा जुगल बोर्डिङ स्कुल, चौताराबाट पूरा गरेका उनले जनयुद्धका कारण छुटेको अध्ययन शान्ति प्रक्रियापछि निरन्तरता दिँदै राजनीति शास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन् ।
१३ वर्षको उमेरमै अनेरास्ववियु (क्रान्तिकारी) बाल इकाइमार्फत राजनीतिक यात्रामा प्रवेश गरेका सापकोटा वि.सं. २०५६ देखि पूर्ण रूपमा भूमिगत रहे । २०६३ सालमा चौतारा आक्रमणका क्रममा उनी गम्भीर घाइते भएका थिए । आज पनि उनको शरीरमा गोलीका छर्रा छन् ।
जनतासँग नजिक, सहज र पहुँचयोग्य नेताका रूपमा चिनिएका माधव सापकोटा ‘सुबोध’ सिन्धुपाल्चोक मात्र नभई देशकै आशा, विश्वास र भरोसाका रूपमा स्थापित छन् ।