जाजरकोट :जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ६, रादेउमा नक्कली सरकारी छाप र रसिदसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–२ का २३ वर्षीय पारश शाही र वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनीहरूले जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र रसिद प्रयोग गरी खनिज तथा जडिबुटी बोकेका गाडीलाई रोकी अवैध राजस्व असुलेका थिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन र प्रहरी चौकी जुनिचाँदेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई रादेउ सडक खण्डमा नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको साथबाट नक्कली छाप, अनुसूची १०१ अनुसारको आम्दानी रसिद, चेकजाँच सिफारिस पत्र र कर संकलन रसिद बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि उनीहरूलाई हिरासतमा राखिएको छ।