काठमाडौं । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको हो । नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ ।
बैठकले शनिबार क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गर्दै आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गर्ने उल्लेख गरेको छ ।
हिजो राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समुहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चाार सामग्री हराएको घटनाको विरोधमा महासंघले आज देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।