२७ पुष २०८२, आईतवार

झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ

काठमाडौं । झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्।प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

डिएसपी खगेन्द्र खड्काअनुसार उनीहरूलाई अमेरिकाले भुटान फिर्ता पठाएपछि भुटानबाट पुन: नेपाल आएका हुन्। अन्य पनि आउन सक्ने भनेर प्रहरीले नाकातिर कडाइ गरेको बताएको छ।

 

अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो। सो सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका-३ बेलडागी शिविरबाट पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्।  उनीहरूमाथि थप अनुसन्‍धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी छ।