२ कार्तिक २०८१, शुक्रबार

जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

जाजरकोट :जाजरकोटको ऐतिहासिक दरबारमा दशैंका फूलपाती भित्र्याइएको छ । दशैकाे साताैंदिन सप्तमीका दिन परम्परागत राजकीय शक्तिको प्रतिक खड्गदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती  भित्र्याइएको हो ।बिहीबार जाजरकोटको जगतिपुरबाट ल्याएको उखु, अदुवा, बेलपत्रलगायत पूजा सामग्री र खड्ग देवतासहित फूलपाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

२८ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खड्ग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । २८ वर्षपछि पहिलोपटक स्थानीयले बाजासहित जगतिपुरबाट ल्याएकाे फूलपाती र खड्ग जाजरकोट दरबारमा पूजाआजासहित भित्र्याइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा पुजारी सत्यदेव शर्माले ल्याएको खड्ग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक भित्र्याएका हुन् ।

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा २५४ वर्षअघि जाजरकोट राज्यलाई उपहारस्वरूप दिएको शक्तिको प्रतीक खड्ग अर्थात् तरबार जगतीपुरबाट जाजरकोट दरबार ल्याएको ।जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए ।

स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको व्यापक सहभागितामा शंख ध्वनिसहित जगतिपुरबाट खड्गलाई जाजरकोट दरबार ल्याएको हो ।