२३ भाद्र २०८१, आईतवार

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

जाजरकोट : कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको सुन्दर र रमाइलो ठाउँ रिम्नामा आज देखि “रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” संचालन हुदैछ ।आज,जेष्ठ ७ देखि २० गते सम्म संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताइयकाे छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो ।

जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नुका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारिकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रबर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए ।

कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सहआयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको क्लवका अध्यक्ष एवम् महोत्सव संचालन समितिका संयोजक निरज रानाले बताए । संयोजक रानाले जिल्लाका पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिलाई उजाकर गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

महोत्सवमा स्थानीय मयुर नाँच, सिंगारु नाँच, पञ्चेबाजा, पैसेरु नाँच, पापीनी नाँच, सोरठी नाँच लगायतका साँस्कृतिक प्रदर्शनी गरिने आयोजकले जनाएको छ । महोत्सवमा विशेष गरी स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुरहरु :-दहि, महि, घिऊ मह, सिस्नो, मकैको रोटी, कोदो, माछा, डोको, नाम्लो लगायतका फरक-फरक स्टलहरु राखेर विक्री वितरण तथा अवलोकन गर्न सकिने छ । साथै महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक रूपमा साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले बताएको छ ।

महोत्सव अवलोकनका लागि जाजरकोट सहित रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, डोल्पा, दाङ, प्युठान लगायतका जिल्लाबाट करिब एक लाख दर्शक आउने आयोजकले अपेक्षा गरेको छ ।