२३ भाद्र २०८१, आईतवार

२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

जाजरकोट :प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकार तथा  सञ्चार माध्यमलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो ।
अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठुलो सहयोग पुगेको उहाँको भनाइ थियो । मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचिकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिनुभयो ।
काउन्सिलले रुकुमपश्चिमका १९ जना पत्रकार, आठ वटा एफएम रेडियो र ६ वटा छापा तथा अनलाइन पत्रिकालाई सहुलियत वितरण गरेको छ । यस्तै जाजरकोटका २४ जना पत्रकार, ५ वटा एफएम रेडियो र १० वटा अनलाइन तथा छापा माध्यमलाई सहुलियत वितरण गरिएको काउन्सिलका शाखा अधिकृत तथा भुकम्प केन्द्रविन्दु क्षेत्रका महेन्द्रराज सिंहले जानकारी दिनुभयो । काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चार गृहको अनुगमन तथा निरीक्षण गर्नुकासाथै आचारसंहिता जागरण सञ्चालन गरेको थियो। साथै याे भन्दा अगाडि पनि भुकम्प प्रभावित क्षेत्रहरुका विभिन्न ठाउमा राहतका सामाग्रीहरु वितरण गरियकाे प्रेस काउन्सिलका शाखा अधिकृत सिंहले बताउनु भयाे ।