११ श्रावण २०८१, शनिबार

मुगुमा एकै घरका चार जना मृत अवस्थामा भेटिय

मुगु ।मुगुको छायानाथ,रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् ।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका  गरिएका चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या गर्यो  खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायक उपरिक्षक थापाले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोरा-छोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ ।

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ  ।