२३ भाद्र २०८१, आईतवार

विश्वकप खेलमा कस्ले के पाए

 

विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ ।

८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे। मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए।

यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन्।

फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन्। विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिना कै वर्चश्व हुँदा एम्बापेले मात्र गोल्डेन बल जितेका हुन्। साविक उपविजेता फ्रान्स कतार विश्वकपमा अजेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो। उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ ।

फाइनल खेलमा ह्याट्रिक गरेका एम्बापेले विश्वकप २०२२ मा ७ खेल खेलेका उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट अवार्ड जितेका हुन्।

सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका एम्बापेले ६६ खेलमा ३६ गोल गरेका छन्।

गोलरक्षक एमिलियानो मार्टिनेजले २२ औं संस्करणको विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन्।

फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएको मार्टिनेज विश्वकपको उत्कृष्ट गोल रक्षक बनेका हुन्।

यसअघि क्वार्टर फाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि उनले पेनाल्टी रोक्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याएका थिए। मार्टिनेजले विश्वकपका ७ खेलमा ३ क्लिनसिट राखे।

मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए। ३० वर्षीय मार्टिनेज एस्टन भिल्लाबाट व्यवसायीक फुटबल खेल्छन्।

विश्वकपका उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि अर्जेन्टिनाले नै जितेको छ । २१ वर्षीय मिडफिल्डर एन्जो फर्नाण्डेजले यो पुरस्कार जितेका हुन् ।जारी विश्वकपमा उनले १ गोल गरेका थिए।

अर्जेन्टिनाले ३६ वर्ष पछि विश्वकपको उपाधि जितेको हो।

विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले सर्वाधिक १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डोले १५, जर्मनीकै जर्ड मुलरले १४ र फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरेका छन् । फोन्टेनले १९५८ मा एक मात्र विश्वकप खेल्दै १३ गोल गरेका थिए ।