११ श्रावण २०८१, शनिबार

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

  1.             २१ कात्तिक, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सर्फमरहरु रहने छन् ।

सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् ।

हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।तथा वितरण लाइनका आयोजनाहरुको प्रगति, आगामी दिनमा नपलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ ।

परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने,’सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहींबाट विद्युत आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’