२३ भाद्र २०८१, आईतवार

७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौं , निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब सात जिल्लाको मतपत्र छपाइ बाँकी

आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ । यी जिल्लामा करिब ८४ लाख मपतत्र आवश्यक पर्ने आयोगले जनाएको छ ।