११ श्रावण २०८१, शनिबार

छिमेकीले पनि हराउन खोज्दैछन् : चित्रबहादुर केसी


१३ कार्तिक काठमाडौं।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका छन् । नेपालबाट धर्म निरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूप्रति हराउने खेल भएको दाबी गरे ।

आइतबार बागलुङ बजारमा आयोजित चुनावी कार्यक्रममा केसीले धर्म निरपेक्षता र गणतन्त्र बचाउन गठबन्धन र आफ्नो उम्मेदवारी चाहिएको बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्नसक्ने समेत उनले टिप्पणी गरे ।

‘म बुढो सांसद हुने नहुने कुराले केही फरक पर्दैन, तर मलाई हराउन पाए संसद् र सिंहदरबारमा खुलेआम प्रवेश गरेर हिन्दुराष्ट्र भित्राउने खेल खेलौंला भन्नेहरु धेरै छन्, त्यसमा छिमेकी राष्ट्रका कूटनीतिज्ञ नै बढी सक्रिय छन् ।’

उनले सामन्त गोयल आएर तीन घण्टा वार्ता गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएको टिप्पणीसमेत गरे । गोयलको कुरा सुनेर ओलीले संसद् विघटन गर्ने निर्णयमा राष्ट्रपति सामेल बन्नु देशको दुर्भाग्य भएको भन्दै ओलीको आलोचना गर
‘जब राजनीतिले धार्मिक रुप लिन्छ त्यसपछि राष्ट्र र राष्ट्रियता खतरामा पर्छ,’ केसीले भने, ‘एनजिओदेखि सहकारीसम्म संगठन पुर्‍याएर एमालेले हिन्दु धार्मिक देश बनाउन खोजेको छ ।’ त्यसका लागि छिमेकीले साथ दिएको उनले टिप्प्णी गरे । कोरोनाले देश अप्ठ्यारोमा पर्दा अक्सिजन किन्न छाडेर पशुपति मन्दिरमा जलहारी राखेको भन्दै केसीले ओलीको आलोचना गरे ।

केसीले गठबन्धन जीवन मरणको सवाल भएको भन्दै संसद्‌बाट हिटलर जन्मन नदिन जनतालाई आग्रह गरे । ओलीको पुनर्उदयले हिटलर जन्माउने भन्दै अधिनायकवादविरुद्ध फेरि लड्नुपर्ने बेला आएको उनले बताए । ‘२०१७ साल २०५९ को भन्दा खतरा अधिनायकवाद आउन सक्छ, त्यसैले गठबन्धनले जित्नुपर्छ,’ केसीले भने, ‘अवसर गुमाएपछि पछुताउनुभन्दा बेलैमा सोचेर मतदान गरौं ।’

आसन्न चुनावमा कुन दलले जित्ने हार्ने भन्दा पनि राष्ट्रियता जोगाउन यो अन्तिम लडाइँका लागि मतदान गर्ने अवसर भएकोसमेत उनले बताए । केसी बागलुङ क्षेत्र नं १ का उम्मेदवार हुन् । उनी कांग्रेस, माओवादी र नेकपा एसको समर्थनमा उम्मेदवार बनेका हुन् । यहाँ एमालेका सूर्य पाठक उमेदवार छन् । यसअघि पाठकलाई सघाएका केसीले यो पटक एमालेबाट टाढिएर कांग्रेस सहितको गठबन्धनको उम्मेदवार बनेका हुन् ।