११ श्रावण २०८१, शनिबार

प्रदीपको टिमले मात्र गर्न सक्छ काठमाडौं ५काे विकास : नरहरि आचार्य

१३ कार्तिक काठमाडौं ।कांग्रेसका  बाैद्धिक नेता नरहरि आचार्यले काठमाडौं- ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्।

आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्।

‘काठमाडौं- ५ मा युवाहरूको बलियो टिम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टिमले जिते मात्र काठमाडौं- ५ मा विकासका ढोका खुल्न थाल्छन्।’

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए। ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घच्घच्याउनुहुनेछ,’ आचार्यले भने।

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रस्ट पारे। त्यसैले, गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे।

‘जब-जब देशलाई संकट पर्छ त्यतिवेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो। त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ।’

टोखामा उत्पादन हुने चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। ‘टोखाको चाकु स्वदेशी बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनेछौँ,’ उनले भने, ‘टोखा पुरानो नेवारी बस्ती पनि हो, यहाँको सभ्यता र संस्कृतिको विकासका लागि अध्ययन गर्नेछौँ।’

त्यस्तै, काठमाडौं- ५ लाई सांस्कृतिक सहर निर्माण गर्न सूक्ष्म अध्ययन गरिने उनले बताए। ‘हामी काठमाडौं-५ लाई कसरी सांस्कृतिक सहर बनाउन सकिन्छ । त्यसबारेमा सूक्ष्म अध्ययन गर्नेछौँ,’ प्रदीपले आफ्ना योजना सुनाए, ‘यहाँका विकासका सम्भावनाको खोजी र अध्ययन गर्नेछौँ, संसद् विकास कोषको पैसा वार्षिक सार्वजनिक अडिट गर्ने व्यवस्था मिलाउनेछौँ,  हाम्रा कामको मूल्यांकन गर्न टोलटोलमा समिति बनाउनेछौँ।’

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव मनीष जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रिकेटर पारस खड्का, फुटबलर रामचन्द्र श्रेष्ठ, मनीन्द्रराज जोशी बक्सिङका अर्जुनबहादुर केसी, पुष्पराज जोशी, पर्वतारोही पूर्णिमा श्रेष्ठ र नवौँ राष्ट्रिय खेलकुदको विभिन्न विधामा पदक विजेतासहित ४० जना खेलाडीलाई सम्मान गरिएको थियो।