११ श्रावण २०८१, शनिबार

रानी पोखरीमा छठ मनाउन नपाइने

११ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए ।

‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’

उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।

मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्वय महानगरले गरेको पनि उनले बताए ।

रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको आलोचना गर्दै आएको छ । तर प्रवक्ता मानन्धरले रानी पोखरीमा छठ मनाउन भनेर नै मेयर बालेन साहसहितको बैठक बसेको र तयारी पनि गरिएको तर प्राविधिक समस्या देखिएकोे रानीपोखरी खुल्ला नगर्ने निर्णय गर्नु परेको बताए ।

कमल पोखरीसहित महानगरमा रहेका अरु पोखरी तथा खोला नदी किनारमा छठ मनाउन आवश्यक तयारी भइरहेको पनि उनले बताए । पुनर्निर्माण प्राधिकरणले रानी पोखरी पुनर्निर्माण गरे पनि त्यसको संरक्षको जिम्मेवारी महानगरपालिकामा छ ।