काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भरत प्रसाद पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। युवालाई प्रोत्साहन, रोजगारी सिर्जना, सुशासनको प्रवर्द्धन तथा जनविश्वास जित्ने नेतृत्व निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।
लामो समयदेखि सामाजिक, राजनीतिक तथा जनसरोकारका विषयमा सक्रिय रहँदै आएका पराजुलीले देशमा बढ्दो बेरोजगारी, युवापलायन र नेतृत्वप्रति घट्दो जनविश्वासलाई चुनौतीका रूपमा लिँदै पार्टीभित्र नयाँ सोच र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताएका छन्।
उम्मेदवारी घोषणासँगै उनले युवाशक्तिलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। “देशका लाखौं युवाको क्षमता, सीप र ऊर्जालाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो,” उनले बताएका छन्।
पराजुलीले पार्टी संगठनलाई अझ बलियो, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दै रास्वपाले उठाउँदै आएको सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।
उनका समर्थकहरूका अनुसार पराजुलीको उम्मेदवारीले पार्टीभित्र अनुभवी र ऊर्जाशील नेतृत्वको समन्वय गर्दै संगठनलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। विशेषगरी युवा वर्ग, उद्यमशीलता, रोजगारी तथा सामाजिक रूपान्तरणका मुद्दामा उनको सक्रियता उल्लेखनीय रहेको दाबी गरिएको छ।
रास्वपाको आगामी नेतृत्व चयन प्रक्रियालाई लिएर पार्टीभित्र उत्साह बढिरहेका बेला पराजुलीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले पार्टीका नीति, सिद्धान्त र जनअपेक्षालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
