४ बैशाख २०८३, शुक्रबार

नेपालगञ्ज वडा नं. ५ मा दोस्रो अन्तर वडा स्तरिय क्रिकेट ६ गते देखि शुरु हुने

दिनेश ठाकुर ,

नेपालगञ्ज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा दोस्रो अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आज वडा कार्यालयमा भएको पत्रकार सम्मेलनमा क्रिकेट प्रतियोगिताका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य, मनोरञ्जन सगैं समाजलाई जोड्न र स्थानीय खेलाडीहरुको प्रतिभा, क्षमतालाई उजागर गर्न ५ नम्बर वडा कार्यालयले क्रिकेट प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष शराफत हुसैन शेषले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्रिकेट प्रतियोगिताको उद्दघाटन पूर्वमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद मो.इस्तियाक राईले गर्नुहुनेछ ।

यही वैशाख ६ गतेदेखि शुरु हुने क्रिकेट प्रतियोगिता वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । करिब ३० वटा टिम सहभागी हुने क्रिकेट प्रतियोगिता नेपालगंज फुल्टेक्रा, स्थित विद्युत कार्यालय नजिकको खेलमैदानमा हुनेछ ।

रोयल स्पोर्ट क्लव नेपालगञ्ज बाँकेले सहयोग गरेको प्रतियोगितामा कुल ७ देखि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले १ लाख ५० हजार रुपैयाँ, ५ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट व्यवस्था गर्नेछ भने बाँकी विभिन्न प्रायोजक, खेलप्रेमी व्यक्ति, संस्थाहरुबाट खर्च व्यवस्थापन गरिने जनाईएको छ ।

क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ, दोस्रो पुरस्कार ५० हजार रुपैयाँ सहित विभिन्न विधामा थप पुरस्कार सहित सम्मान पनि राखिएको छ ।

पत्रकार सम्मेलनमा वडा सदस्य शान्ति पासी, वडा सचिव महेश कुमार यादव र विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।