काठमाडौं । सडकमा बेवारिसे अवस्थामा छोडिएको गाई संरक्षण गर्दै आएको संस्था राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको संयुक्त आयोजनामा यहि २०८२ श्रावण १ गते बाट श्रावण ३० गते सम्म बेवारिसे गाई संरक्षण तथा गौशाला निर्माणको सहयोगार्थ पशुपतिमा महायज्ञ हुने भएको छ । आज रिपोटर्स क्लबमा एक पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा बेवारिसे मानव व्यवस्थापनमा लागेका सामाजिक अभियन्ता बिनय जंग बस्नेत, सामाजिक अभियन्ता पुण्य गौतम तथा सनातन हिन्दु धर्मका अभियन्ता राजानाथ माण्डव्यको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा समाजका अध्यक्ष राम बहादुर तामाङ र सुन्दर परिकल्पना सक्षमसमाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु) लगायतका वक्ताहरुले संस्था र महायज्ञको लक्ष्य र उदेश्य बारे बोल्नु भएको थियो भने सामाजिक अभियन्ताहरुले यो कार्यक्रममा आफ्नो सकृय सहभागिता र सक्दो सहयोग रहने प्रतिबद्धता राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अभियन्ता राजानाथ माण्डव्यले यस्तै बृद्धाश्रम ,बाल आश्रम तथा मन्दिर र गौशाला निर्माणको लागि गरिएका महायज्ञ हरुबाट अरबौं दान उठेको देखिएपनि उठेको दानबाट केहि काम हुन नसकेकोमा दुखेसो व्यक्त गर्नु भएको थियो ।
अभियन्ता पुण्य गौतमले गौमाता संरक्षण तथा गौशाला निर्माण अभियानमा आफ्नो पुर्ण समर्थन रहने भन्दै हिन्दु धर्ममा आस्था राख्ने सबैलाई एकपटक यो महायज्ञमा उपस्थित हुन आग्रह समेत गर्नुभयो ।
वेवारिसे लास व्यवस्थापकको उपमा कमाएका अभियन्ता बिनय जंग बस्नेतले हरेक कुराको शुरुवात आजै बाट गर्नु पर्छ भन्दै संस्थाको क्युआर कोड मार्फत ५ हजार सहयोग गरेर सहयोगको कार्यक्रम शुरुवात गर्नु भएको थियो । बस्नेतले पशुपतिक्षेत्र बिकासकोष भित्रको भ्रष्टाचारको कुरुप देखेर आफु आजिद भएको बताउँदै तिनिहरुलाई भगवानले क्षमा नदिने बताउनु भयो ।
आयोजक संस्थाको तर्फबाट बोल्दै कुमारी बाँठामगर(मनु)ले १० हजार भन्दा माथि सहयोग गर्ने सहयोगीहातहरुलाई संस्थाले उच्चसम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो ।
आयोजक संस्थाकै राम बहादुर तामाङले आफुले १४ बर्ष बैदेशिक रोजगार बाट कमाएर ल्याएको पैसा गौ रक्षा मै लगानी गरेकोले अहिले घरबाट समेत बहिस्कार हुनुपर्ने सिर्जना भएको बताउनु भयो ।
संसारमा जन्मलिएका हरेक प्राणीको बाँच्न पाउने अधिकारलाई हनन गर्न नहुने भन्दै कार्यक्रमका वक्ताहरुले सबै महानुभावहरुलाई सहयोको लागि समेत अपिल गर्नु भएको छ ।
कार्यक्रम सन्चालन गर्दै संस्थाकी महासचिव शुभद्रा भुर्तेलले सबै मिडियाकर्मी हरुलाई कार्यक्रम सफल बनाउन प्रचार प्रसारमा सहयोग गरिदिनुहुन आग्रह गर्नु भयो ।