६ बैशाख २०८२, शनिबार

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

जाजरकाेट :जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ उनले भने, ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’

प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो ।

जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

‘गाउँमा चर्किएका घरबाट मान्छेहरू बाहिर आएर बस्न थालेका छन

गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामिडाडाँलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिमका १२८ जनाको ज्यान गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु मानिएको पैकमा पनि नयाँ घरहरू चर्किएका छन् ।  स्थानीयहरू पुनः भूकम्प आउने जोखिममा घर बाहिर निस्केको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । त्यहाँ घरहरू चर्किए पनि मानवीय क्षति नभएको अध्यक्ष बस्नेतले बताए ।

‘केही नयाँ घरहरू चर्किएका छन् । फेरि भूकम्प जाने डरले स्थानीयहरू घर बाहिरै छन् । क्षतिको यकिन विवरण भने आएको छैन,’ अध्यक्ष बस्नेतले भने ।

भूकम्प मापन केन्द्र सुर्खेतअनुसार भूकम्पको धक्का छिमेकी जिल्ला सल्यान, रुकुम पश्चिम, सुर्खेत, दैलेख आसपासमा महसुस गरिएको थियो । उक्त भूकम्पबाट के कति क्षति भयो भन्ने बारे थप विवरण आइसकेको भने छैन ।