१९ चैत्र २०८१, मंगलवार

उत्कृष्ट पत्रकारिता पुरस्कार जाजरकोटका दिप घर्तीलाई

जाजरकोट :पत्रकार दीपबहादुर घर्तीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशनको अवसरमा पत्रकार घर्तीलाई कर्णाली प्रदेश बाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घर्तीलाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । घर्ती लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । जाजरकोटमा बसेर पत्रकारिता गरिरहेका उनी डिजिटल सञ्चार अनलाइनका सञ्चालक हुन् ।

यस्तै, प्रेस सेन्टरले पाँचौँ महाधिवेशनको अवसरमा आज १४ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । प्रेस सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार कोमल बरालले पाएका छन् । यसैगरी, शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्ण र बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार मञ्जिमा ढकाललाई प्रदान गरिएको छ ।

यस्तै, प्रत्येक प्रदेशबाट एक–एक जना उत्कृष्ट पत्रकार पुरस्कृत भएका छन् । उत्कृष्ट पत्रकारिता पुरस्कारबाट कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास ठाकुर र बागमती प्रदेशबाट सिर्जना गोले पुरस्कृत भएका छन् । यस्तै, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती र सुदूरपश्चिम प्रदेशबाट हरि जोशीलाई पुरस्कृत गरिएको छ ।

उपत्यका प्रदेशबाट विनोद दाहाल पुरस्कृत हुँदा एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत भएका छन् । पुरस्कृत हुने पत्रकारहरुलाई आज (शनिवार) बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंक्वेटमा प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशन उद्घाटनको क्रममा नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गर्नुभएको थियो ।