३१ भाद्र २०८१, सोमबार

भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

चितवन : नेकपा (बहुमत) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिचौलियाहरूको मिलोमतोमा भारतबाट दूषित माछा ल्याएर खुलेआम बेचिरहेको भन्दै त्यसका विरुद्ध नेपाल मत्स्य व्यवसायी सङ्घले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ ।

नेकपा (बहुमत) चितवनका संयोजक विजय शर्माले विज्ञप्ति जारी गरी नेपाली उपभोक्ताको माग र आवश्यकताअनुसार गुणस्तरीय माछा उत्पादनका लागि नेपाली मत्स्य व्यवसायीहरू सक्षम रहेको अवस्थामा भारतबाट निकासी हुने हानिकारक विषादीको प्रयोग भएका, बिचौलियाका आडमा आएको माछाले नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने निश्चित रहेकाले यस्ताखाले माछा प्रवेश नगराउन सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् ।

संयोजक विजय शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राष्ट्रियता, जनजीविका र जनतन्त्रका लागि निरन्तर सङ्घर्षरत रही दलाल संसदीय व्यवस्थाका विरुद्ध विद्रोह गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढिरहेको सबैमा जानकारी नै छ । विगत लामो समयदेखि नेपाली किसानहरूले आफ्नो हकहित र अधिकार प्राप्तिका निम्ति जायज मागहरू राखी आन्दोलन गर्दै आएका छन् । दलाल संसदीय सत्ताले मत्स्य व्यवसायी किसानहरूका मागलाई सम्बोधन गरेको छैन, बरु किसानहरूलाई राज्यले लगानी गर्नुपर्ने ठाउँमा आफ्नो सम्पत्ति बैङ्कमा धितो राखी लगानी गर्दा पनि उल्टो राज्यले भारतीय बिचौलियाहरूको मिलोमतोमा अवैध माछा प्रवेश गराउनु दुःखद् कुरा हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ नेपाली मत्स्य व्यवसायीहरू नेपालमा पुग्ने माछा उत्पादन गर्न सक्षम रहेको अवस्थामा भारतबाट चोरीनिकासी हुने हानिकारक विषादीको प्रयोग भएका, बिचौलियाको आडमा आएको अवैध माछाले नेपालीहरूको स्वास्थ्यमा असर पार्ने निश्चित नै छ । यस्ताखाले माछा प्रवेश नगराउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ । साथै नेपाली व्यवसायीहरू भारतीय बिचौलियासँग प्रतिस्पर्धा गर्ने अवस्था देखिँदैन । नेपाली किसानहरू दिनदिनै टाटपल्टिँदै गएको अवस्थामा क्वारेन्टाइन, भन्सार, विषादी नियन्त्रण गर्न र अनुगमन गर्न हाम्रो पार्टी नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय समितिले असोज १ गते बाट आफ्नो व्यवसाय र हकअधिकार रक्षाका लागि सुरु गरेको आन्दोलनप्रति हाम्रो पार्टीको ऐक्यबद्धता रहेको जानकारी गराउँछौँ । साथै भारतीय बिचौलियाहरूको माछा प्रवेश गराइएकामा कडाभन्दा कडा कारबाही गर्न बाध्य हुनेछौँ । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

नेकपा (बहुमत) ले नेपाली किसानहरू दिनदिनै टाटपल्टिँदै गएको अवस्थामा क्वारेन्टाइन, भन्सार, विषादी नियन्त्रण गर्न र अनुगमन गर्न पनि सरकारसँग माग गरेको छ । भारतीय बिचौलियाहरूको माछा प्रवेश गराइएकोमा कडाभन्दा कडा कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै नेकपा (बहुमत) ले यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि प्रस्ट पारेको छ ।