७ पुष २०८१, आईतवार

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

काठमाडौं : देशका विभिन्न पालिकामा भएकाे उप निर्वाचन २०८१ काे मत परिणामले फेरि पनि पुरानै दलकाे बर्चस्व देखियकाे छ ।

दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद निर्विरोध भय पछि  आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् ।

उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।

कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। जसअनुसार तीन पदमा निर्विरोध हुँदा त्यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेका थिए ।  यस्तै उपनिर्वाचन भएका स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मत खसेको थियो ।