५ माघ २०८१, शनिबार

बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर सम्पन्न

नेपालगन्ज  । बाँके युनेस्को क्लब (BUC) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा  संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर आयोजना गर्यो।

यो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको सहकार्यमा सम्पन्न भएको छ । यस शिविरमा सहभागी बालबालिकालाई पहिले नै विद्यालयमा वाशिंगटन समूहको प्रश्नावलीको आधारमा मुल्याङ्कन गरिएको थियो।

शिविरको उद्घाटन गुलरिया नगरपालिकाकी उपप्रमुख श्रीमती सबित्रा गौतमले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत, इकाइ प्रमुखहरू, नगर कार्यपालिकाका सदस्यहरू, र वडा अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो।

शिविरमा बाँके युनेस्को क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष श्री रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष  पंचम गुरुङ, प्राविधिक सल्लाहकार  साजिद अली सिद्दिकी, र कार्यक्रम संयोजक  महेश नेपालीको लगायत चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो। बालबालिकाको आँखा, हड्डी, कान, नाक, घाँटीका विशेषज्ञहरू तथा नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुर-बाँकेका फिजियोथेरापिस्टहरूले परीक्षण गर्नुभएको थियो।

अन्तिम परीक्षण गुलरिया नगरपालिकाको परिचयपत्र वितरण समितिका सदस्य डा. बिजय उपाध्यायले गर्नुभएको थियो।

शिविरको नतिजा स्वरूप, १० जना बालबालिकालाई अपाङ्गता परिचयपत्र प्रदान गरियो, १८ जना बालबालिकालाई चस्मा वितरण गरियो, र २ जना बालबालिकालाई श्रवण सहयोग यन्त्र प्रदान गरियो।  उक्त एक दिवसीय अपाङ्गता परीक्षण शिविर बर्दिया जिल्लाको बढईया, बांसगड़ी र राजापुर नगरपालिकामा समेत संचालन गरीनेछ ।