२ कार्तिक २०८१, शुक्रबार

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’

बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,’ उनले भनेका छन् ।